राजनीति

सरकार जोगाउने कसरतमा प्रचण्ड

२१ असार २०८१, शुक्रबार ०३:१९
सरकार जोगाउने कसरतमा प्रचण्ड

२१ असार,काठमाडौं। प्रतिनिधिसभाका दुई प्रमुख दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको नयाँ सरकारका पक्षमा राजनीतिक समर्थन बढ्दै गएको छ ।

सत्तासाझेदार एमालेले समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको छ। एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। तर, प्रधानमन्त्री प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसद्मा विश्वासको मत लिने निर्णय गरिसकेको छ। सोही कारण प्रचण्डले अल्पमतमा परे पनि राजीनामा दिएका छैनन्।

एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनेपछि सो गठबन्धनलाई विभिन्न दलले साथ दिने निर्णय गरेका छन् । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले एमाले र कांग्रेस गठबन्धनलाई साथ दिने निर्णय गरेका छन्।

सोमबार मध्यराती कांग्रेस–एमालेबीच भएको समझदारीअनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्ने योजना अघि सार्दै बनेको नयाँ समीकरणलाई अरू दलले समेत समर्थन गर्ने क्रम बढ्दो छ। यस हिसाबले नयाँ गठबन्धनबाट बन्ने आगामी सरकारको पक्षमा २ सय ५ भन्दा बढी सांसदको समर्थन देखिइसकेको छ भने हालका प्रधानमन्त्री प्रचण्डसँग मुश्किलले ६५ जना मात्रै सांसद देखिएका छन् ।

राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन र राजनीतिक स्थिरता कायम गर्न कांग्रेस–एमालेबीच नयाँ समीकरण बनेको नेताहरूले दाबी गरेका छन् । सो समीकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), अशोक राई नेतृत्वको जसपा, उपेन्द्र यादव नेतृत्वका जसपा नेपाल, महन्त ठाकुर नेतृत्वको लोसपाले नयाँ कांग्रेस–एमाले समीकरणलाई स्वागत गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र मन्त्रीहरूलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको छ। एकीकृत समाजवादीका नवनिर्वाचित महासचिव घनश्याम भुसालले तत्काल प्रचण्ड नेतृत्वको सरकारबाट आफ्नो पार्टी नबाहिरिने स्पष्ट पारेका छन्। पार्टीको १०औं महाधिवेशनस्थल प्रज्ञा भवनमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा महासचिव भुसालले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिने जानकारी दिए।

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न-नगराउन ध्यानाकर्षण गराएको छ। एमालेले सरकार स्पष्टतः अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न-नगराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको हो।

प्रतिक्रिया दिनुहोस्