मुख्य समाचार

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा सर्वोच्चमा आज सुनुवाइ हुने

१८ असार २०८१, मंगलवार ०६:१३
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा सर्वोच्चमा आज सुनुवाइ हुने

१८ असार,काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ । पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा परेको रिट निवेदनमाथि आज फेरि सुनुवाइ हुने भएको हो ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

गत असार ७ गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा आजका लागि सारेको थियो ।

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्