प्रदेश ५

बाँके जिल्ला कारागार जीर्ण

४ आश्विन २०८०, बिहीबार ०३:०२
बाँके जिल्ला कारागार जीर्ण

४ असोज, न्यूयोर्क । नेपालगञ्जस्थित बाँके जिल्ला कारागारको भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए ।

“कारागारको संरचना जीर्ण छन् । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्”, उनले भने, “जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षाको जोखिम बढेको छ ।”

नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित  कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । ढल निकासको व्यवस्था नभएकोले कारागार वरिपरिको वातावरण दुर्गन्धित छ ।

तीन सय ५० जना अट्ने क्षमता भए पनि हाल नौ सय ४६ कैदीबन्दी रहेको जेलर शाहले बताए । संविधान दिवसका अवसरमा बुधबार बाँके कारागारबाट १६ कैदीको बाँकी कैद माफी मिनाहा भएसँगै अब नौ सय ३० कैदीबन्दी कारागारमा छन् ।

संविधान दिवसका अवसरमा जिल्ला कारागार बाँकेमा रहेका १६ पुरुष कैदी र जयन्दु बालसुधार गृहमा रहेका सात नाबालकको बाँकी कैद माफी मिनाहा भएको जेलर शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्