समाचार

कांग्रेसको महाधिवेशनमा कलकत्ताका माछा

२६ मंसिर २०७८, आईतवार १७:०६
कांग्रेसको महाधिवेशनमा कलकत्ताका माछा

२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार ४०० केजी माछा कलकत्ताबाट आयात गरिएको छ ।

मङ्सिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्याण्डले संयुक्त रुपमा गरेका छन् ।

दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक छ हजार  व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा साहाकारीले समेत खाने हुँदा माछाको खपत बढेको बताउछन ।

कांग्रेसको महाधिवेशनभर करिब १० टन माछा खपत हुने अनुमान छ । अधिवेशनमा दैनिक ८०० केजी कुखुरा र ८०० केजी खसीको मासु खपत हुने गरेको छ । अधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अण्डा खपत भएको थियो ।

अधिवेशनमा दैनिक छ हजार व्यक्तिका लागि भोजन तयारी  गरिएको छ । प्रतिदिन प्रतिव्यक्ति रु दुई हजार २०० का दरले बिहानको नास्ता र दुई छाक खाना खुवाउनुपर्ने सम्झौता भएको दियालो फुडल्याण्डका अध्यक्ष जनप्रकाश चापागाईंले जानकारी दिए ।

खानामा साहाकारी र मांशहारी दुवै थरीका भोजन तयार गरिँदै आएको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्