५ भदौ, अकाडमाडौँ। आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बसेन। बैठक नबसेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्टि पोखेका छन्।
लामिछानेले शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम मात्रै हुने टिप्पणी गरेका छन्। सिंहदरबारमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले भने, ‘हामीलाई के लाग्यो भने, शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो। साक्षी बस्नुको अर्थ देखिएन। हामी छलफल गर्छौं, यो विषय उहाँहरूलाई नै टुंग्याउन दिनुपर्छ।’
अस्वस्थका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित भएनन्। ‘सर्वदलीय बैठक बसेन। अस्वस्थका कारण ओलीजी आउनु भएन,’लामिछानेले भने,’शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम मात्रै हो। यसमा कुनै तुक छैन।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बस्दै नबसी बुधबारका लागि स्थगित गरिएको थियो।
‘ओली अस्वस्थ भएकोले बैठकमा आउन नपाएको’ लामिछानेको भनाइ छ। लामिछानेले समय अभाव देखाएर आज पनि संसद बैठक स्थगित भएको भन्दै आक्रोश समेत व्यक्ति गरे। संसद् बैठक दिउँसो ३ बजेका लागि डाकिएको थियो।
प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री र सभामुख जानु परेकाले समय अभावका कारण आज संसद बैठक नबस्ने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।