५ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिएका छन्।
उनले भने, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।”चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो जानकारी दिएको हो ।
सो प्रतिनिधिमण्डलमा दुई जिल्लाका मध्यवर्ती क्षेत्रका जनप्रतिनिधि तथा बासिन्दासहित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रकुमार बाँनिया रहेका थिए ।