४ भदौ, विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजेका लागि प्रदेशसभाकाे बैठक बाेलाइएकाे छ । बैठककाे कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएकी छिन् ।
सभामुखको समेत जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवार आजको बैठकमा अनुपस्थित भएमा मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन कठिन हुनेछ ।
सभा संचालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत (४७) संख्या पुर्याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा संचालन गर्नुपरेकाे अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।
उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः सङ्कटमा परेको हो ।
यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तिलाई मान्यता दिएको थिएन ।कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गाैतमलाई राजीनामा गराएकाे थियाे भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेकाे थियाे ।