२ भदौ, भद्रपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना तथा ठूला पार्टीका नेताहरु पहाड नभएर एउटा गन्हाउने फोहोरको डंगुर भएको आरोप लगाएका छन् ।
झापा क्षेत्र नम्बर ३ स्थित वनियानी बजारमा शनिवार आयोजना गरेको सङ्गठन निर्माणमा अवसर र चुनौती कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।उनले पुराना पार्टीका नेताहरू फोहोरको थुप्रो भएको संज्ञा दिएका छन् ।
पूर्वगृहमन्त्री तथा चितवन क्षेत्र नम्बर २ का सङ्घीय सांसद समेत रहेका लामिछानेले आउँदो ०८४ सालको निर्वाचनमा फोहोरलाइ सफा गरिसक्ने दाबी गरे । हालसम्म २१ वटा फोहोरको थुप्रो सफा गरिसकेको बताए । उनले पुराना नेताहरुले अवैध सम्पत्ति लुकाउन लागि परेको आरोप समेत लगाए । पुराना राजनीतिक पार्टीका नेताहरू ३२ वर्ष लगाएर भेला पारेको अवैध सम्पत्ति लुकाउन बल गरिरहेको उनको भनाइ थियो । देशलाई कङ्गाल बनाएर थुपारेको सम्पत्तिको हिसाब खोज्ने उनले दाबी गरे ।
पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन भएको लामिछानेले बताए । देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएको उनको भनाइ थियो । पुराना राजनीतिक दलका अनैतिक सेटिङ्ले नै युवामा देशभित्र केही गर्ने जाँगर हराएको बताए ।