३२ साउन, कैलाली। कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन गर्न थालेका छन् ।
उनीहरूले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरू तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यस्त छन् ।
यसरी दैनिक ५० किलो अचार उत्पादन हुने गरेको महिला उद्यमी कल्पना जैसीले बताइन् । “आँपको अचार सबै बिक्री भयो”, उनले भनिन्, “दैनिक ५० किलो अचार उत्पादन गर्छौं, मागअनुसारका अचार उत्पादन गर्ने गरेका र्छौं ।” चाँडै अनुमतिपत्र पाएपछि उत्पादन बढाएर अन्य जिल्ला पठाउने जैसीको योजना छ ।
उनले भनिन्, “दैनिक २०/२५ महिलालाई रोजगारी दिने योजना छ ।” यहाँ उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौं, नेपालगञ्जजस्ता शहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मङ्सिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् । उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन् । हालसम्म झन्डै पाँच क्विन्टल बिक्री भइसकेको जैसीले बताइन् ।
यसैगरी दुई क्विन्टल गुन्द्रुक र साढे तीन क्विन्टल सिन्की उत्पादन भएको छ । सिन्की र गुन्द्रुक सबै बिक्री भइसकेको छ । पहिलोपटक उत्पादन शुरु गरिएका कारण मागअनुसार सिन्की र गुन्द्रुक उत्पादन गर्न नसकिएको सिर्जना पण्डितले बताइन् । “शुरुवात भएका कारण कच्चा पदार्थ जुटाउन नसक्दा मागअनुसार उत्पादन गर्न सकेनौं”, उनले भनिन्, “सिक्दैछौं, उत्पादन बढाउँदै जान्छौं ।” गुणस्तर मापनका लागि उनीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीमा पठाउने गरेका छन् ।
मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिँडालु छिल्ने, पिँडालु मसिनो बनाउने, मास पिस्ने, पिँडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् ।
मस्यौरा तयार गर्ने मेसिनमा रु १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागतरूपमै तयार गर्ने गरिएको छ । सत्र महिलाले रु एक/एक लाख लगानी गरी उद्योग सञ्चालन गरेका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिँडालु र मासले मूल्य पाएको छ । यसपटक मुला उत्पादक किसानले सोचेभन्दा राम्रो नाफा कमाउन सफल भएका छन् ।