३२ साउन, काठमाडौँ । लामो समयदेखि अवरोध भइरहेको सदन खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् ।
राष्ट्रपति पौडेलले संसद् अवरोध खुलाउन दलहरूबीच सहमति गरेर अघि बढ्न प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।
जवाफमा ओलीले प्रधानमन्त्री जिम्मेवार नबनेकै कारण सहमतिमा पुग्न नसकिएको धारणा राखेका थिए । नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर तेस्रो मुलुकमा सुन तस्करी हुने कुरा अन्तर्राष्ट्रिय ध्यानाकर्षणको विषय मात्र नभएर मुलुकको राष्ट्रिय हित र सुरक्षामाथि आँच पुग्ने विषय भएको ओलीको भनाइ थियो । यसलाई जरैदेखि निर्मूल गर्न र गहिरो छानबिनसहित दोषीमाथि कारबाही गर्न एमालेले उच्चस्तरीय छानबिन समितिको कुरा उठाएको ओलीले राष्ट्रपतिलाई सुनाएका थिए ।
त्यसअघि पनि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छलफल गरेका थिए । पौडेलले संसद्को अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउने मनस्थितिसमेत बनाइरहेको शीतल निवास स्रोतले बतायो ।