समाचार

बालेनको दबाबपछि महानगर योजना आयोगका उपाध्यक्षले दिए राजीनामा

३२ श्रावण २०८०, बिहीबार ०१:३७
बालेनको दबाबपछि महानगर योजना आयोगका उपाध्यक्षले दिए राजीनामा

३२ साउन, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको दबाब दिएपछि महानगरका सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् । उनले गत शुक्रबार राजीनामा बुझाएका हुन् ।

कार्यपालिकाले नियुक्त गर्ने सीपीसी उपाध्यक्षको कार्यकाल ५ वर्ष हुने भए पनि खड्काले एक वर्ष नपुग्दै राजीनामा दिएका हुन् । उनले पारिवारिक व्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताए ।

योजनाको काममा लाग्नुपर्ने बेला उपाध्यक्षले लामो विदा मागेपछि उनीसँग राजीनामा माग गरिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले अनलाइनखबरलाई बताए । ‘आर्थिक वर्ष सुरु भएको केही दिनमात्रै भएको छ, योजनासम्बन्धी धेरै काम गर्ने बेला उहाँले लामो समय विदा मागेपछि, राजीनामा कै कुरा भएको हो’, शाहले भने ।

उनी २६ पुसमा काठमाडौं महानगरपालिकाले योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । खड्काकै योजनामा महानगरपालिकाले चालू आवमा महानगर गौरवको योजना, स्वर्णिम योजना ल्याएको थियो ।

खड्काको राजीनामापछि बिहीबार बस्ने कार्यपालिका बैठकले डा. सुमननरिसंह राजभण्डारीलाई नयाँ उपाध्यक्षमा नियुक्ति गर्ने भएको छ । मेयर हुनुअघि बालेन राजभण्डारीका सहयोगी थिए । राजभण्डारीले इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्