३१ साउन, विराटनगर । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ ।
‘उहाँलाई कृषि राज्यमन्त्रीको जिम्मेवारीमा आजै शपथ हुँदै छ,’ कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले भने । ९३ सदस्यीय प्रदेश सभामा सरकार जोगाउनका लागि चाहिने बहुमत संख्या (४७) पुर्याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि सत्ता गठबन्धनलाई उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने डर भने कायमै छ।
मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग बहुमत पुग्ने ४७ सांसद छन् । विश्वासको मत लिँदा उपसभामुख अनुपस्थित भए मण्डलले सभा संचालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो । त्यस अवस्थामा सभाध्यक्षले मत हाल्न नपाउँदा ४६ संख्या मात्र पुग्ने थियो । मुख्यमन्त्री उद्धव थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।
तर, अब सभाध्यक्ष सदस्यमध्ये एक जनाले सभा संचालन गर्नुपर्ने हुन्छ । एमालेले आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट पारित गराउने तर विश्वासको मत लिन भने उपसभामुख सिर्जना दनुवार अनुपस्थित गराउने रणनीति लिएको गठबन्धनका एक सांसदले बताए । उपसभामुख अनुपस्थित हुँदा ज्येष्ठ सदस्य मण्डलले सभा चलाउन नपरोस् भनेर उनलाई मन्त्री बनाइएको स्रोतको भनाइ छ । उपसभामुख दनुवारले भने आफू नभाग्ने र सभा बैठक संचालन गर्ने बताउँदै आएकी छन् ।