३१ साउन, काठमाडौं। ‘नइ एकेडेमी अस्ट्रेलिया’ले आसन्न तीजका अवसरमा अस्ट्रेलियाको ग्रानभिलको रातो घरमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी पुरस्कार’ प्रदान गरेको छ ।
नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर २०२३ अवार्ड नाम दिइएको पुरस्कार शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङ, विज्ञान तथा प्रविधितर्फ डा. अर्चना कोइराला र कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलियालाई प्रदान गरियो । ती पुरस्कारका राशी जनही ५०० डलर रहेका छन् ।
अस्ट्रेलियामा वसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान दिने नारीहरूलाई नइ एकेडेमी अस्ट्रेलियाले कदरपत्र प्रदान गरेको थियो । कदरपत्र ग्रहण गर्नेमा श्वेता मैनाली, उषाकिरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारी रहेका नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीले जानकारी दिइन् ।
कलाकार र गायकले सांस्कृतिक प्रस्तुति दिइएको कार्यक्रममा एनआरएनए, अस्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङले नेपाली संस्कृति, कला र भाषाको उत्थानका लागि योगदान दिन आफूहरू लागिरहने बताए । सोही संस्थाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले एनआरएनए कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
अस्ट्रेलियाका सांसद डोना डेविसले अन्य समुदायजस्तै नइ एकेडेमी अस्ट्रेलिया पनि ठूलो नेपाली समुदाय रहेको बताए ।