३१ साउन, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ( नेपाल नजिक) रहेको छ।
अस्ति र हिजो धेरै ठाउँमा पानी परेको थिएन । हिजो मंगलबार देशका धेरै ठाउँमा मौसम सफा थियो तर आजदेखि भने मनसुन विस्तारै सक्रिय हुन थालेको छ ।
हाल देशभर आँशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।