समाचार

महराका बाबुछोरामाथि छानबिन गर्न निर्देशन दिइसकेको छु : प्रधानमन्त्री प्रचण्ड

३१ श्रावण २०८०, बुधबार ०१:१६
महराका बाबुछोरामाथि छानबिन गर्न निर्देशन दिइसकेको छु : प्रधानमन्त्री प्रचण्ड

३१ साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा मा‌ओवादीका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सुन तस्करी काण्डमा संलग्न रहेको आरोप लागेका महरा बाबुछोरामाथि छानबिन हुने बताएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा सुन तस्करीको सञ्जालमा संलग्नसँग महरा बाबुछोराको २५६ पटकसम्म फोन सम्पर्क भएको देखिएको भनी किटानसहित प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा उक्त कुरा उल्लेख भए पनि महरालाई सोधपुछ र अभियोजन गरिएको छैन । यो विषय सार्वजनिक भएपछि महरालाई प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संरक्षण गरी अनुसन्धान नै नगरेको आलोचना भइरहेको छ । अनुसन्धानको दायरामा ल्याउन प्रधानमन्त्री दाहाल तथा गृहमन्त्रीमाथि व्यापक दबाब छ ।

केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर ल्याइएको तस्करीको सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महराको नाम जोडिएको थियो। सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएको थियो।

उक्त सुन प्रकरणका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा पनि महरा र उनको छोराको चिनियाँ नागरिकसँग सम्पर्क तथा सम्बन्ध भएको र विमानस्थल भन्सार कार्यालयमा पनि लिलामीको बारेमा चासो राखेको उल्लेख थियो। तर उक्त प्रकरणमा उनीहरुमाथि बयान समेत नलिइ अभियोग पत्र दायर भएपछि अहिले सार्वजनिक प्रश्न उठिरहेको छ।

यसैगरी उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू संलग्न भएको आशंका गरिएको झापाको गिरीबन्धु टी स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार भएको फाइल अनुसन्धान हुने बताए।

उनीहरुले वाङसँग २३४ पटकभन्दा धेरै टेलिफोन सम्पर्क गरेको खुलासा भइसेको छ । यद्यपि महराले भने वाङ फलफूल व्यापारी रहेको र फलफूल व्यापारीकै नाताले आफू उनीसँग सम्पर्कमा रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्