३० साउन, काठमाडौं । ६ वर्ष पहिले काठमाडौंको बल्खुमा महिलाको हत्या गरेर भागेका व्यक्ति केन्द्रीय कारागार सुन्धारामा फेला परेका छन्।
मकवानपुरको मनोहरा गाउँपालिका–३ की ५० वर्षीया अप्सरा भनेर चिनिने नारायणी तिमिल्सिना हत्याका अभियुक्तलाई प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाटै फेला पारेको छ ।
झन्डै ६ वर्षअघि नारायणीको हत्या गरेपछि प्रहरीबाट लुक्दैछिप्दै हिंडेका धादिङ मूलपानीका ४६ वर्षीय शिवराम अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केन्द्रीय कारागार सुन्धाराबाट फेला पारेको हो ।
उनको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा बल्खुको भुवनेश्वर मन्दिर पछाडि शव फेला परेको थियो। सोही हत्याका अभियुक्त शिवराम अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरी मुद्दामा अर्कै नाममा कैद भुक्तान गरिरहेको अवस्थामा केन्द्रीय कारागारमा फेला पारेको हो।
घटना लगत्तै प्रहरीले अभियुक्तको खोजी गरिरहेको थियो। घटनाको ६ वर्षपछि प्रहरीले उनलाई जेलभित्रै फेला पारेर हत्या अभियोगमा अनुसन्धान अगाडि बढाएको छ।
मृतक नारायणीको शरीर खानतलासी गर्दा सानो किप्याड मोबाइल फेला परेको थियो । घटना भएको दिन नारायणी र शिवरामको पटकपटक कुराकानी भएको भेटिएपछि शिवरामले नै उनको हत्या गरेको निष्कर्षमा प्रहरी टोली पुगेको थियो ।
मृतकले बोक्ने मोबाइलमा आफन्तको नम्बर फेला परेपछि आफन्तले उनको शवको सनाखत गरेका थिए । हत्यापछि लामो समयसम्म फरार रहेपछि शिवरामले नै नारायणीको हत्या गरेकोमा प्रहरी ढुक्क बनेको थियो ।
अनुसन्धानका क्रममा प्रहरी टोली शिवरामको परिवारका सदस्यसम्मसमेत पुगेको थियो । परिवारका सदस्यले शव भेटिएको अघिल्लो दिन २९ पुस २०७४ देखि घर पनि नआएको र आफूहरूलाई फोन पनि नगरेको प्रहरीलाई जानकारी गराएका थिए ।