२९ साउन,काठमाडौं । एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा अफलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट इन्टरनेट वा डेटा कनेक्सन नहुँदा पनि भुक्तानी सुविधा पाउने भएका छन् ।
यस सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । विशेष कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको समुदघाटन गरेका छन् । सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ ऊर्जा थपेको बताए । फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमालाई पार गरी आधुनिक बैंकिङमा नयाँ आयाम थपिने बताए । हालको लागि उक्त सुविधा ‘एनएफसी’ प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुनेछ । स्मार्टफोनमा ‘ट्याप’ गरी सजिलै भुक्तानी प्रक्रिया पुरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरुले आफूसँग भएको ‘फोन पे बिजनेस एप’बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।