२८ साउन,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठक अवरुद्ध गर्न नहुने बताएका छन् ।
साउन १० यता संसद्को बैठको बेलमा गएर अवरुद्ध गरिरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा पत्रकार सम्मेलनमा ओलीले संसद् चलाउन खोजेको दाबी गरेका हुन् ।
“संसद् अवरोध गर्नै हुँदैन । संसद् अवरोध गर्ने परिस्थिति ल्याउनै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । देश र जनताको काम निर्बाध ढंगले गर्नुपर्छ,” उनले भने ।
उनले संसद् निदाएर, सुतेर बस्ने ठाउँ नभएको बताए । आफूहरू संसद् चलाउने पक्षमा रहेको तर सत्तापक्ष उठेर होहल्ला गर्ने गरेको उनको भनाइ छ ।