समाचार

खराब मौसमका कारण भरतपुरमै रोकिए प्रचण्ड

२८ श्रावण २०८०, आईतवार ०७:५२
खराब मौसमका कारण भरतपुरमै रोकिए प्रचण्ड

२८ साउन, काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिकुल मौसमका कारण चितवनबाट फर्किन ढिलाइ भएको छ ।

औपचारिक कार्यक्रम तय नगरि चितवनको भरतपुर पुगेका प्रचण्ड शनिबार भएको अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा भने सहभागी भएका थिए ।

प्रधानमन्त्री आइतबार बिहान चितवनबाट फर्किने तय भएपनि खराब मौसमका कारण उडान डिले भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

माओवादी केन्द्रबाट मन्त्री रहेका सुदन किराती र अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतकी अनितादेवी साह र माओवादी केन्द्रकै हितबहादुर तामाङलाई मन्त्री बनाउने तयारी रहेको बताइएको छ ।

प्रचण्ड पार्टीबाट मन्त्री रहेका किराती र मोदीको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताईन्छ । पछिल्लो समय काम भन्दा गफ बढी गरेको भन्दै मोदी र किराती दुबैलाई फिर्ता बोलाउन पार्टीभित्र प्रचण्डलाई दबाब रहेको एक नेताले बताएका छन् ।

‘जनमतबाट मन्त्री बन्ने निश्चित हो । माओवादीभित्रकै विषय भने टुंगिसकेको अवस्था होइन’ आचार्यले भने, ‘प्रधानमन्त्री फर्किएपछि सबै विषय टुंगिएला ।’ प्रधानमन्त्री फर्किएपछि सबै विषय टुंगिने भएकाले सम्भव भए आज नत्र भोलि पर्सीसम्मा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतको भनाइ छ ।

यसैबीच राष्ट्रपति कार्यालयले पनि मन्त्रिपरिषद् हेरफेरबारे कुनै औपचारिक जानकारी नआएको बताएको छ । ‘हल्ला ब्यापक छ । तर, राष्ट्रपति कार्यालयमा आधिकारिक जानकारी आएको छैन । अहिलेसम्म शपथको कुनै कार्यक्रम तय छैन।

आजै मन्त्रिपरिषद् हेरफेरको तयारीमा रहेका प्रचण्ड भरतपुरमै रोकिएपछि आजपनि मन्त्रिपरिषद् हेरफेर हुने नहुने अन्यौलता नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्