समाचार

द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्तिप्रक्रिया : अध्यक्ष ओली

२७ श्रावण २०८०, शनिबार १६:११
द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्तिप्रक्रिया : अध्यक्ष ओली

२७ साउन,काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई चित्त बुझाएरमात्र शान्तिप्रक्रिया पूरा गर्नुपर्ने बताए ।

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आज यहाँ आयोजना गरेको ‘द्वन्द्वपीडितलाई सङ्क्रमणकालीन न्याय कहिले र समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्गचित्र’ विषयक अन्तरक्रियामा उहाँले द्वन्द्वपीडितलाई चित्त बुझेको कुरामा कानुन बनाएर शान्तिप्रक्रियालाई टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

उनले द्वन्द्वपीडितलाई दबाएर शान्तिप्रक्रिया निष्कर्ष नपुग्ने बताए । उनले द्वन्द्वपीडितमाथि अन्याय गरेर समस्याको समाधान नहुने भन्दै दमन, अन्याय र थिचोमिचो गरेर शान्तिप्रक्रिया सम्पन्न हुन नसक्ने भनाइ राखेका छन् । “मैले न्याय पाएँ भनेर द्वन्द्वपीडितले भन्नुपर्‍यो “द्वन्द्वपीडितमाथि अन्याय गरेर समस्याको समाधान हुँदैन ।

अध्यक्ष ओलीले अब फेरि द्वन्द्व नहोस् भन्नका लागि द्वन्द्वपीडितको समस्यालाई सम्बोधन गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको भनाइ राखेका छन्। उनले करकाप र दबाबबाट मेलमिलाप हुन नसक्ने बताए । “स्वेच्छाले मेलमिलाप गर्न पाउनुपर्दछ । स्वेच्छाले मेलमिलाप गर्ने वातावरण बनाउनुपर्दछ,पीडितलाई राहत र न्याय दिनुपर्दछ ।

अहिलेसम्म कोही मारिँदा तत्काल क्षतिपूर्ति भएको छ । कोही मारिँदा भएको छैन ।” शान्ति प्रक्रिया पीडितलाई चित्त बुझ्ने, पीडितले न्याय पाउने खालको, सर्वोच्च अदालतको फैसला अनुकूल र अन्तर्राष्ट्रिय समुदायलाई चित्त बुझ्नेगरी हुनुपर्नेमा जोड दिँदै उनले भने कि हामी आफैँ समाधान गरौँ, हाम्रो समस्या ।

पहिले हाम्रो कानुन, हाम्रो अदालत, हाम्रो संविधान र हाम्रो सरकार, हाम्रो समुदाय सक्षम छ भन्ने कुरा प्रमाणित गर्नका लागि सरकारले त्यसअनुसार चल्नुपर्दछ । त्यसका निम्ति सिफारिस समिति निष्पक्ष बनाउनुपर्‍यो ।” उनले सत्य निरुपण तथा मेलमिलाप आयोग निष्पक्ष न्याय दिन नसकेको भन्दै आयोग निष्पक्ष न्यायाधीश, मानवअधिकारीकर्मी राखेर बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले शान्ति भएमात्र विकास हुने भन्दै बिना शान्ति विकास सम्भव नुहने बताए । उनले विकासका लागि शान्ति पूर्वसर्त रहेको भन्दै शान्तिको तर्फ र द्वन्द्वका घाउ कसरी मेटाउन सकिन्छ भन्नेतर्फ सबैको प्रयास हुनुपर्नेमा बताए।

प्रतिक्रिया दिनुहोस्