२७ साउन,काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले युवा परिवर्तनका संवाहक भएको बताए । उनले आफू युवा हुँदा पनि परिवर्तनका लागि कमैया मुक्तिको आन्दोलनमा ठूलो सङ्घर्ष गरेको स्मरण गर्दै युवाहरुको सङ्घर्षले मात्रै परिवर्तन सम्भव भएको दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्ले आज रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्य लिएको र रोजगारी सिर्जना गर्ने काममा सरकारले सहयोग गर्ने भएकाले त्यसका लागि ‘प्रपोजल’ बनाएर ल्याउन आग्रह गरेका छन् ।
युवालाई उद्यमशीलतामा कसरी अगाडि बढाउन सकिन्छ र स्थानीय उत्पादनलाई कसरी ‘ब्रान्डिङ’ गर्ने भन्ने विषयमा चिन्तन गर्न आग्रह गर्दै उहाँले रोजगारीका लागि पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न र देश विकासको अभियानमा जोड्नुपर्नेमा जोड दिए । उनले उत्पादनलाई ब्रान्डिङ र मार्केटिङमा सहयोग गर्न युवा परिषद्लाई आग्रह गरेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले सरकारले लिएको लक्ष्यलाई सहयोग गर्नेगरी काम गर्न परिषद्लाई आग्रह गर्दै त्यसमा मन्त्रालयको पूर्ण रहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य पूर्वमन्त्री वसिउद्धिन खाँणले प्रदेशमा जनसङ्ख्याको ५० प्रतिशतभन्दा बढी युवा रहेको बताउँदै युवाको भविष्य अगाडि बढाउनका लागि आफू सामाजिक विकासमन्त्री रहेकै बेला प्रदेश युवा परिषद् गठन गरिएको स्मरण गरेका छन् ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्रीले युवालाई उद्यमशीलतामा जोड्नुपर्ने र नेपाली उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने भनाइ राख्नुभयो । त्यसमा युवा उद्यमीलाई परिषद्का साथ रहने र सरकारका तर्फबाट पनि पूर्ण सहयोग रहनुपर्ने उनको भनाइ थियो ।
यो वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास’ भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । त्यस अवसरमा युवा उद्यमशीलता विकासमा योगदान गरेका प्रदेशका १५ जना उद्यमी तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।