२७ साउन,काठमाडौँ । जिल्लामा भएको दुई कैदी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।
जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायत अन्य सुरक्षाकर्मीहरूका विरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय संखुवासभामा शनिवार उजुरी दर्ता गराएका हुन् ।
रम्तेलले भनिन्, ‘घटना घटेको चार दिनसम्म दोषीलाई सार्वजनिक नगर्नु राज्यको गैरजिम्मेवारी हो। सुरक्षा घेराभित्रको घटनाको छानविन गर्न नसक्नेले कसरी बाहिरको छानविन गर्नसक्छ।’ अनुसान्धान टोलीले सीसी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाई गर्नु शंकास्पद रहेको पीडितको गुनासो छ। सीसी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो।
मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मीलगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदार बताए।
कुटपिटबाट मादी–५ का तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी –७ का बलामीको बुधबार मृत्यु भएपछि पीडित पक्षले शवको पोष्टमार्टम नगरी विरोध गर्दै आएका थिए।
पीडित पक्षले शव हेर्दा रडले कुटपिट गरेको, शरीरभरी निलडाम भएको, हत्या भएको आधार देखिएपछि कारागार प्रमुख र कारागारका सुरक्षाकर्मीविरूद्ध जाहेरी दिने प्रयास गरेका थिए।
घटनालगत्तै पीडित पक्षले विरोध गरेपछि गृह मन्त्रालयले छानविन समिति बनाएको थियो। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार छानविन समिति संयोजक कमलप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, डिएसपी वीरेन्द्र गोदार, मानव अधिकारकर्मी, पीडित पक्ष र जिल्लास्थित सरोकारवालाको सर्वपक्षीय बैठकले कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध उजुरी दिने सहमति भएपछि कानुनी कारबाही सुरु भएको छ।
घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।