समाचार

सरकार युवाहरुलाई श्रमसँग जोड्न लागिपरेको छ : मन्त्री मोदी

२७ श्रावण २०८०, शनिबार १५:४४
सरकार युवाहरुलाई श्रमसँग जोड्न लागिपरेको छ : मन्त्री मोदी

२७ साउन,मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवाहरूलाई श्रमसँग जोड्न लागिपरेको बताएका छन् ।

मातृभूमि फाउन्डेसन नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा ‘युवाका लागि हरित सीप : विश्व दिगो विकासतर्फ’ नाराका साथ आज यहाँ आयोजित अन्तरक्रियामा उनले मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने दिशातर्फ सरकार अगाडि बढिरहेको धारणा राखे ।

मन्त्री मोदीले सङ्घीयतामा महिला, छिडिएका क्षेत्रका जनता र अपाङ्गता भएका व्यक्तिले राज्यमा अधिकार प्राप्त गरेको विचार राखे । उनले मुलुकमा समानुपातिक समावेशीका कारण वर्तमान अवस्थामा जनताका छोरा एवं छोरी राष्ट्रपति भएको उदाहरण प्रस्तुत गरे ।

मन्त्री मोदीले वातावरण प्रदूषण न्यूनीकरणका लागि युवाले प्रविधिको प्रयोग गरी समाजलाई डोर्याउन आग्रहसमेत गरे । उनले समाजप्रति उत्तरदायी भएर अगाडि बढ्न युवाहरूलाई आग्रह गर्दै हाम्रो संस्कृति, नैतिक शिक्षालाई अँगाल्न आवश्यक भएको बताए ।

मन्त्री मोदीले युवाहरूले विराटनगरको विकास गर्न र यसलाई पहिलो सहरका रूपमा विकास गर्न नेतृत्व लिनुपर्नेमा जोड दिए । फाउन्डेसनका अध्यक्ष चाँदबाबु इराकी, भारतीय युवा प्रतिनिधि शुभ्रो राय, युवा अभियन्ता वसन्त अधिकारी, विवेक दाहाल र सत्तार अन्सारीले वातावरण चुनौती समाधानका लागि युवालाई समावेश गर्नुपर्ने तथा विदेश पलायत हुने युवालाई सरकार विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । सो अवसरमा मन्त्री मोदीले विभिन्न क्षेत्रका युवालाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्