प्रदेश

कैदी मृत्यु प्रकरण : संखुवासभा कारागारका नौ कैदी नियन्त्रणमा

२६ श्रावण २०८०, शुक्रबार ०६:३०
कैदी मृत्यु प्रकरण : संखुवासभा कारागारका नौ कैदी नियन्त्रणमा

२६ साउन, काठमाडौं । जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका दुईजना कैदीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले नौजना कैदीमाथि अनुसन्धान थालेको छ ।

कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए ।

जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको छानबिन समिति बनाएको छ। मृतक तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए। उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए।कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ। कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताउँदै आएका छन्।

प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ। दुवैजना एक वर्षदेखि कारागारमा थिए।

यस घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्