धर्म संस्कार

जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली

२६ श्रावण २०८०, शुक्रबार ०३:२७
जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली

२६ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

‘यदि कुनै पनि हिसाबले हामीलाई जातको आधारमा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर विद्वेष, घृणा र फाटो ल्याउनेहरूको योजना सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यति वेला देश जोगाउन सकिँदैन,’ महासंघमा सम्बद्ध नेता–कार्यकर्ताको ध्यानाकर्षण गराउँदै ओलीले भने, ‘हाम्रो देशको विविधता यथार्थ हो । सामाजिक सद्भाव र एकताले मात्र एकताबद्ध, सद्भावयुक्त, आधुनिक, समृद्ध नेपाल र सुखी नेपाली बनाउन सक्छौँ ।’

उनले नेपालमा जातिय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए । उनले भने, ‘हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ । देशको विकास हुन्छ । देश अगाडि बढ्छ ।’

समृद्ध नेपाल सुखि नेपाली भनेको सबै जाति, भाषा, संस्कृतिका सबै भुगोलमा बस्ने सबै व्यवसायका जनताको कुरा हो । पहिचानलाई विकृत रुपमा हामीले लिनु हुँदैन । पहिचान सकारात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपर्दछ । देशको हीतका लागि पहिचान हो । आफ्नो पहिचान देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा हो र ? हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्नका लागि हो । समानताका लागि हो । सद्भावका लागि हो हाम्रो पहिचानको मुद्दा । विभेदका लागि पनि होइन । असमानताका लागि पनि होइन । र विद्वेषका लागि हुँदै होइन । पहिचानको मुद्दा घृणा फैलाउनका लागि होइन । विद्वेषका लागि होइन । मित्रता बढाउनका लागि हो । प्रेम फैलाउनका लागि हो । त्यसकारण यस दिशामा अगाडी बढौँ भन्ने म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्