२६ साउन, काठमाडौँ । युवा सांसदहरूले युवाका लागि बनेका कानून कार्यान्वयनमा समस्या रहेको बताएका छन्।
राष्ट्रिय युवा परिषद्ले २४औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीवार आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उनीहरूले युवाका नीति कार्यान्वयन नहुँदा युवाको क्षेत्रमा काम हुन नसकेको बताएका छन्।
सांसद प्रदीप पौडेलले कार्यान्वयन नहुने नीति बनाएर त्यसको अर्थ नहुने बताएका छन्। उनले राज्यले रोजगार, सुशासन, नीतिको सम्बन्धमा समाधानको निष्कर्ष निकाल्न नसकेको आरोप लगाएका छन्।
‘शैक्षिक प्रमाणपत्र राखेर विद्यार्थीले कहाँ ऋण पाएका छन् ? सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकबाट युवाले ऋण पाए त ? सामाजिक उत्तरदायित्वअन्तर्गत नक्कली कृषकले ऋण लगेका छन्,’ उनले भने, ‘प्रणालीभन्दा पहुँचका आधारमा काम हुने भएकाले युवामा वितृष्णा बढेको छ।’
सरकारले पद्दति, सुशासनको काम गर्न नसकेको पौडेलेको भनाइ थियो। उनले सरकार र राजनीतिक दलले युवाको क्षेत्रमा परिमाण दिने गरी र सुशासन प्राप्तिका लागि अगाडि बढ्नुपर्ने बताएका छन्।
सांसद सूर्यप्रसाद ढकालले युवाका क्षेत्रमा बनेका नीतिमा काम गर्न नसकेकाले युवालाई उद्यमशील बनाउन समस्या भएको बताएका छन्। उनले युवाका विषयमा धेरै मन्त्रालयले बजेट छुट्याए पनि बजेटको सही सदुपयोग हुन नसकेको बताएका छन्। ‘योग्य युवा राजनीतिमा नआउने हो भने अयोग्य युवाले राजनीति गरिरहन्छन्,’ उनले भने, ‘मुलुकलाई सही दिशामा लैजानका लागि योग्य युवा राजनीतिमा आउनुपर्दछ।’
सांसद माधव सापकोटाले कृषिलाई आधुनिकीकरण र राज्यले संरक्षण गर्ने हो भने युवाका समस्या केही हदसम्म भए पनि समाधान हुने बताएका छन्। उनले युवाका क्षेत्रमा बनेका कानून कार्यान्वयनमा जोड दिएका छन्।
सांसद सुमना श्रेष्ठले नीति कार्यान्वयनमा ध्यान नदिएकाले युवा उद्यमी बन्न नसकेको बताइन्।