२६ साउन, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । साउन १० यता पटकपटक अवरोध हुँदै आएको बैठक आज पनि निर्वाधरूपमा चल्ने लक्षण भने छैन ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ।
सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रष्टीकरण दिने भएपछि मंगलबार सदन खुलाइएको भएपनि जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले पुन: सदनमा अवरोध गर्यो ।
सदन खुलाउने विषयमा सभामुखसहित शीर्ष नेतृत्वबीच पटकपटक जुटेपछि उपलब्धि खास केही देखिएको छैन । अझै दलहरूबीच ठोस सहमति भएको छैन ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन्।
बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नेछन्।