समाचार

प्राधिकरणको नाफा रु १२ अर्ब ३३ करोड, साधारण सेयर बिक्रीको तयारी

२५ श्रावण २०८०, बिहीबार १३:१०
प्राधिकरणको नाफा रु १२ अर्ब ३३ करोड, साधारण सेयर बिक्रीको तयारी

२५ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ  नाफा कमाएको छ ।  आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ मा रु छ अर्ब १० करोड रहेकामा आव २०७८÷७९ मा खुद नाफा फेरि बढेर रु १३ अर्ब ३७ करोड पुगेको थियो । गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब रु ८१ अर्ब रहेकामा अहिले बढेर करिब रु एक खर्ब १८ अर्ब पुगेको छ । प्राधिकरणको सञ्चित नाफा रु ११ अर्बबाट बढेर रु ३६ अर्ब ६७ करोड पुगेको छ ।

प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पुर्याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवं सुदृढीकरणमा जोड दिइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्