२५ साउन, एजेन्सी। इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ ।
केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या गरिएको हो ।समाचार अनुसार उनले क्विटो शहरमा एक चुनावी र्यालीको आयोजना गरेका थिए, सोही र्यालीमा एक संदिग्ध व्यक्तिले उनीमाथि गोली हानी हत्या गरिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीन पटक गोली लागेको थियो । इक्वेडरका महान्यायाधिवक्ताले सामाजिक सञ्जालमा भने कि संदिग्धलाई पनि सुरक्षाकर्मीहरूले जवाफी फायरिङमा गोली हानेको थियो र पछि मृत्यु भयो। देशमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचन अगस्ट २० मा सुरु हुँदैछ।
राष्ट्रपति लासोले घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । इक्वेडरमा लागूऔषध तश्करीको बढ्दो उपस्थितिले हिंसात्मक अपराधमा वृद्धि भएको छ, जुन यस वर्षको राष्ट्रपति चुनावमा पनि एक केन्द्रीय मुद्दा हो।