समाचार

प्रतिनिधि सभामा गृहमन्त्रीले आज सुन प्रकरणमा प्रष्टीकरण दिने

२३ श्रावण २०८०, मंगलवार ०८:५६
प्रतिनिधि सभामा गृहमन्त्रीले आज सुन प्रकरणमा प्रष्टीकरण दिने

२३ साउन,काठमाडौं । लामो समयको छलफपछि प्रतिनिधि सभाको अवरोध खुलेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुको छलफलपछि सदनको अवरोध खुलेको हो ।

सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् सञ्चालन हुन नदिने अडानसहित अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार भने बैठक सञ्चालन गर्न दिने जनाएको छ ।

आजको छलफलमा सुन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको विषयमा आज बस्ने प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिन सहमत भएपछि अवरुद्ध सदन सूचारु हुने भएको हो ।

साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले आज जवाफ दिने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भने ‘हामी संसद् जहिले पनि चलाउन चाहन्छौं । आजको बैठक पनि चल्नुपर्छ । चलाउन पर्छ । गृहमन्त्रीले जवाफ दिन्छु भन्नु भएको छ । त्यसमा हामी अवरोध गर्दैनौं । देशभरीका माननीयहरुले बोल्नुहुन्छ, त्यो पनि अवरोध हुँदैन । त्यसपछि हाम्रो माग पुरा भएन भने हामी हाम्रा माग लिएर उभिन्छौं ।

प्रतिक्रिया दिनुहोस्