समाचार

देउवाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता, को को छन् प्यानलमा ?

२५ मंसिर २०७८, शनिबार ११:१८
देउवाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता, को को छन् प्यानलमा ?

२५ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका हुन् । जुन प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् ।

देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल छन्। पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका हुन्। सहमहामन्त्रीका उम्मेदवारमा आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही तय भएका छन्।

यसअघि टिमसहित भृकुटीमण्डप पुगेका डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए। त्यस्तै, सभापति पदका लागि विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्