समाचार

आँखा पाक्ने सङ्क्रमण बढ्दैगएपछि विद्यालय बन्द

२२ श्रावण २०८०, सोमबार ०१:४५
आँखा पाक्ने सङ्क्रमण बढ्दैगएपछि विद्यालय बन्द

२२ साउन, चितवन ।  आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।

आँखा पाक्ने रोग (एडिनो भाइरस) को सङ्क्रमण चितवनमा पनि बढ्दै गएको छ । यस्तै आँखा पाक्ने समस्या बढ्दै गएपछि रत्ननगर नगरपालिकाका सबै विद्यालय बन्द हुने भएका छन् । रत्ननगरले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि साउन २४ गतेसम्म पालिकाभित्रका कक्षा १२ सम्म सञ्चालन भएका संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।

साथै बन्दको सूचना गर्नुपूर्व आँखाको सुरक्षासम्बन्धी सचेतीकरण गर्नसमेत अनुरोध गरेको छ । “आँखाको समस्या बढ्दै गएको हुँदा साउन २२ देखि २४ गतेसम्म विद्यालय बन्द गर्नुहुन र बन्दको सूचनासम्बन्धी जानकारी गर्नुपूर्व आँखाको सुरक्षासम्बन्धी सचेतीकरणसमेत गर्न गराउनुहुन नगर कार्यापालिकाको साउन २१ गतेको निर्णय अनुसार अनुरोध छ”, नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि खैरहनी नगरपालिकाले पनि शैक्षिक संस्थामा बिदा गर्ने निर्णय गरिसकेको छ । खैरहनीमा आइतबार र सोमबार बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्