२२ साउन, काठमाडौं । साउनको चौथो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्यो । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
आज साउन महिनाको चौथो सोमबार शिवको पूजा आराधना गरिदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधनाका लागि शक्तिपीठहरुमा भक्तजनहरु जाने गर्दछन् ।
पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।
हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । विशेषगरी महिलाहरुले हरियो, पहेलो र रातो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन् ।
ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिन शिवोपासना विशेष मानिन्छ । साउन महिनाको सोमबार गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने जनविश्वास छ ।