२० साउन,एजेन्सी ।शनिबार पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको जिल्ला तथा सत्र अदालतले तोशाखाना मुद्दामा दोषी ठहर गर्दै ३ वर्षको कैदसहित १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
यस मुद्दामा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । सजायको घोषणा लगत्तै इस्लामावाद प्रहरीले इमरानलाई लाहोरबाट पक्राउ गरेको बताइएको छ ।
खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। तर २०२२ अप्रिलमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो। विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी अपदस्त भएका थिए। कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए।
अप्रिल २०२२ मा पदबाट हटाइएपछि खानविरुद्ध १०० भन्दा बढी उजुरी परेका थिए। खानले भने ती सबै आरोप अस्वीकार गर्दै राजनीतिकरण गरिएको बताउँदै आएका छन्। शनिबार अदालतले उनीविरुद्धका सयौँ अभियोगमध्ये तोशाखाना मुद्दामा दोषी ठहर गरेको हो।
के हो तोशाखाना?
तोशाखाना फारसी भाषाको शब्द हो। यसको अर्थ हुन्छ खजाना कोठा। मुगल शासनकालमा शाही मानिसहरूबाट प्राप्त उपहारहरू राख्नका लागि तोशाखाना प्रयोग गरिन्थ्यो।
यो व्यवस्था भारतमा स्वतन्त्रता पछि पनि जारी रह्यो। यसमा विदेशबाट आएका सरकारी अधिकारीहरूले प्राप्त गर्ने उपहारहरू राखिन्छ। सरकारी अधिकारीलाई विदेशबाट प्राप्त हुने बहुमूल्य उपहार तोशाखानामा राख्नुपर्छ।
मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोशाखानाबाट २.१५ करोडमा किनेका थिए र बेचेर ५.८ करोड रुपैयाँ नाफा कमाए । यी उपहारहरूमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरू थिए। गत वर्ष अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले बिक्रीको विवरण साझा नगरेकोमा उनलाई अयोग्य घोषित गरेको थियो।