१९ साउन , काठमाडौं। साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ । रोजगारीको सिलसिलामा साउदी पुगेका सर्लाहीका शिव चरण साफीलाई स्वदेश फर्काइएको हो ।
साफी बिरामी भएपछि साउदीको एक अस्पतालमा परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएपछि तत्काल नेपाल जान उनको पासपोर्टको म्याद सकिएको र रियादस्थित नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाइएको नेपाली साझा मञ्च साउदीका महासचिव राजु केसीले जानकारी दिए ।
कम्पनीमा काम गर्ने क्रममा उनी बिरामी परेका थिए । अस्पताल भर्ना भएर परीक्षणको क्रममा उनका दुवै मिर्गौला फेल भएको पाइएको थियो । र उनलाई जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउनुपर्ने हुन्छ । त्यसका लागि साउदीमा सम्भव नभएपछि नेपाल पठाइएको हो ।
नेपाल पठाउनको लागि उनलाई अर्को समस्या आइपरेको थियो । उनको पासपोर्टको म्याद सकिएको थियो । जसले गर्दा उनी नेपाल आउन सक्ने अवस्थामा थिएनन् । साउदीमा रहेको नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट जारी गरिएको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका धेरै कामदारले यस्तै समस्या भोग्ने गरेका छन्। मिर्गौलाको उपचारमा संलग्न चिकित्सकहरूको अनुसार, वैदेशिक रोजगारीको क्रममा मिर्गौलामा खराबी आएर फर्किनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ।