१८ साउन , दार्चुला । नेपाली सेनामा जागिर लगाई दिने भन्दै विभिन्न व्यक्तिहरुबाट रकम असुल गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका ३ बस्ने श्याम सिंह धामीलगायतका ७ जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेय बताए ।
प्रहरी नायव उपरीक्षक पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका(३ बाँजका २७ वर्षीय नरेन्द्र सिह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, वर्ष ४४ का बिशन सिंह नगाल, वर्ष २७ को रमेश सिह महर, ३० वर्षीय देव सिह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका ३ का ५१ वर्षीय श्याम सिह धामी र कैलालीको गोदावरी नगरपालिका(३ कालिकाटोल बस्ने वर्ष ३४ का शंकर भूललाई पक्राउ गरिएको हो ।
प्रहरी नायब उपरीक्षक पाण्डेयका अनुसार पीडित सात जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन देखाइएको थियो । पक्राउ परेकाको खाता नम्बर र ई–सेवामा रकम आएको बताइएको छ । उनीहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।