१८ साउन ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विमानस्थलको भन्सारको गोदामबाट हराएको सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् । ‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु,’ महराले भनेका छन, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’
भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा महरालाई पक्राउ नगरेको र १०० किलो सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ। एमाले र राप्रपाले तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै आएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा हालसम्म जवाफसमेत दिएका छैनन्। विपक्षीको अडानपश्चात सत्ता पक्षले सभामुखलाई संसद बैठक सार्न आग्रह गर्दै आएको छ।