समाचार

सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

१२ श्रावण २०८०, शुक्रबार ०३:००
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

१२ साउन, काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका छन् ।

बिहीवार लैनचौरस्थित उपराष्ट्रपति भवनमा भेट गर्न आएका नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीसँगको कुराकानीमा उनले शान्ति, समुन्नति र सदस्य राष्ट्रका आमनागरिकको बृहत् हितका लागि सार्क अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उपराष्ट्रपति यादवले भने, ‘सार्कमा देखिएको गतिरोधको अन्त्य गर्न अध्यक्षको हैसियतमा नेपालले पहल गरिरहेको छ । यसका लागि सार्कका सबै सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण छ ।’ उनले २ देशको परराष्ट्र मन्त्रालयबीच स्थापित द्विपक्षीय परामर्श संयन्त्र र अर्थ मन्त्रालयबीच स्थापित संयुक्त आर्थिक सहयोगमार्फत निरन्तर संवाद र सहकार्य गर्न आवश्यक रहेको बताए ।

‘हामीले वाणिज्य र आर्थिक क्षेत्रमा थप सहकार्य गर्नु पर्दछ,’ उनले भने, ‘हामी व्यापार, लगानी, पर्यटन, संस्कृति एवं जनस्तरबीच सम्बन्ध विस्तारमा सहकार्य गर्न सक्छौं ।’

उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानका लगानीकर्तालाई जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै आएको उल्लेख गरे । उनले जलवायु परिवर्तन र विश्वव्यापी तामक्रम वृद्धिले हिन्दकुश हिमालय क्षेत्रमा प्रतिकूल प्रभाव परेकामा चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनका कारण सिर्जित प्रतिकूल असर न्यूनीकरण गर्न एकजुट भएर काम गर्नुपर्ने उपराष्ट्रपति यादवले आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्