प्रदेश

सार्वजनिक सवारीको भाडा घट्यो

१२ श्रावण २०८०, शुक्रबार ०२:४२
सार्वजनिक सवारीको भाडा घट्यो

१२ साउन, काठमाडौँ। बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज (बिहीवार) मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गरेको हो ।

बागमती प्रदेश सरकारले यात्रुवाहक सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागू गरेको भाडादरमा २.३० प्रतिशत भाडा कम गरेको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपियाँले घटेको छ ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । त्यस्तै उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपियाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपियाँ तोकिएको छ । २० किलोमिटरसम्मको भाडा ३२ रुपियाँ कायम गरिएको छ ।

अहिले १० किलोमिटर यात्रा गर्दा २४ रुपियाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपियाँ भाडादर तोकिएको छ । तर, यात्रुले २५ रुपियाँ र ३० रुपियाँ तिर्नुपर्ने बाध्यता हुने यात्रुको गुनासो छ । सरकारले यातायात व्यवसायीलाई मात्रै सहज हुने गरी भाडा समायोजन गरेको हुँदा नयाँ भाडादरको अनुगमन हुनुपर्ने उपभोक्ताकर्मीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्