समाचार

राष्ट्रियसभा बैठक : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल

११ श्रावण २०८०, बिहीबार ०६:३५
राष्ट्रियसभा बैठक : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल

११ साउन, काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ । सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका हुन् ।

सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । सो संशोधन राष्ट्रियसभाले स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि अघि बढ्नेछ । विधेयक टेबुल गर्नुअघि मन्तव्य दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्काे केही नेपाल ऐन संशोधनका रुपमा विधेयक ल्याउनुपरेको हो ।

अनुचित लेनदेनलाई कानुनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उनले आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने विश्वास दिलाए । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विधि निर्माणका प्रक्रियामा संविधानबमोजिमका प्रावधान र समयावधिको पालना गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको अर्काे बैठक आजै ३१ मिनेटपछि बस्ने गरी स्थगन भएको छ । सभामा प्रमुख प्रतिपक्षीले अवैध सुन ल्याइएको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै उक्त विधेयकबाहेक अन्य कारबाही सञ्चालन नगर्न ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्