पत्रपत्रिका

देउवा–सिटौला एक ठाउँ उभिँदै

२५ मंसिर २०७८, शनिबार ०३:०३
देउवा–सिटौला एक ठाउँ उभिँदै

२५,मंसिर, काठमाडौं। नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ ।

महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् । तर, सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ ।

सिटौलानिकट नेता भीमसेनदास प्रधानका अनुसार युवा नेता प्रदीप पौडेललाई सिटौलाले देउवा समूहबाट महामन्त्रीमा उठाउने सहमति बनेको हो ।

यसैगरी, थारू क्लस्टरबाट सहमहामन्त्रीमा नेता उमाकान्त चौधरीलाई अघि सार्ने दुई नेताबीच सहमति बनेको छ । यो सहमतिका विषयमा शुक्रबार राति दरबारमार्गस्थित होटल रोयलसिंगेमा सिटौला समूहको आन्तरिक छलफल भएको थियो ।

‘प्रदीपजी महामन्त्री र उमाकान्तजी सहमहामन्त्रीमा उठ्ने तय भयो, अरू विषयमा छलफल हुन बाँकी छ, सहमतिको अन्तिम मोडालिटी छिट्टै तय हुन्छ,’ नेता प्रधानले भने ।

सिटौला भने महाधिवेशनमा उठ्ने विषयमा कुनै निर्णयमा पुगिसकेका छैनन् । उनलाई देउवाले आफ्नो समूहबाट उपसभापतिमा बस्न पटकपटक आग्रह गर्दै आइरहेका छन् । तर, उनी भने आफू बाहिरै बसेर सघाउने र आफ्नो टिमबाट युवाहरूलाई अघि बढाउने भन्ने मनस्थितिमा छन् ।

तर, सिटौला समूहभित्र पनि कि सभापतिमा आफ्नो टिम बनाएरै लड्न नभए उपसभापतिमा बसेर भए पनि नेतृत्वमा रहन सिटौलालाई निकटका नेताहरूले समेत सुझाइरहेका छन् । यो अवस्थामा सिटौला उपसभापतिमा बस्न तयार हुँदासमेत पौडेललाई महामन्त्रीमा नै राख्ने उनको योजना छ ।

‘सिटौलाजी आफू उठ्नेभन्दा पनि आफ्ना टिमका साथीहरूलाई टिममा पार्ने योजना र रणनीतिमा हुनुभएको देखिन्छ तर उहाँ उपसभापतिमा रहने अवस्था आए पनि प्रदीपजीलाई भने महामन्त्रीबाट ब्याक नहटाउने उहाँको मनस्थिति छ,’ सिटौला निकट अर्का एक नेताले भने । सिटौला र देउवाबीच कसरी अघि बढ्ने भन्ने विषयमा ‘वान टु वान’ वार्ता हुने बताइएको छ ।

सिटौला समूहबाट उम्मेदवारको नाम भने नेता पौडेलसहित केन्द्रीय सदस्य शिव हुमागार्इं र काठमाडौंका नेता गौरी दवाडीले तयार गरिरहेका छन् । उनीहरूले सातै प्रदेशमा रहेका आफ्ना समूहका नेताहरूसँग पनि परामर्श लिइरहेका छन् । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार शनिबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

देउवा र सिटौला समूहबीच धेरैजसो स्थानमा तल्ला तहका अधिवेशनमा पनि सहकार्य भएको थियो । सहकार्यबाटै सिटौला समूहले प्रदेश १ को सभापति हात पारेको थियो भने बाग्मतीमा सिटौला समूहको साथ पाएर देउवा समूहले सभापति पद जितेको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्