समाचार

समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेललाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

१० श्रावण २०८०, बुधबार १२:४९
समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेललाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

१० साउन, काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तत्कालीन समरजंग कम्पनीका प्रमुख रमेशकुमार पोखरेललाई छाड्न अस्वीकार गरेको छ ।

समरजंग कम्पनीका तत्कालिन प्रमुख पोखरेललाई १८ असारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो । ललिता निवास प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा पोखरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि हाल उनी सीआईबीको हिरासतमा छन् ।

साथै सर्वोच्चले पुनः म्याद थपको माग भएर आएको अवस्थामा ‘वस्तुनिष्ट विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’ भनेर जिल्ला अदालत काठमाडौँलाई आदेश पनि दिएको छ ।

‘अब निजलाई अनुसन्धानको लागि अपरिहार्यता देखाई थुनामै राख्न फेरि म्याद थप गर्न माग भई आएको अवस्थामा निजको स्वास्थ्य अवस्था तथा निजलाई थुनामा नराखी अनुसन्धान गर्दा मुद्दाको अनुसन्धानमा निजले प्रभाव पार्न सक्ने÷नसक्ने सम्मका अवस्थाहरुको वस्तुनिष्ट विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’, आदेशमा भनिएको छ ।

पोखरेल १९ वैशाख २०६९ देखि ५ कात्तिक २०७० सालसम्म उनी समरजंग कम्पनीको प्रमुख थिए । ललिता निवासको जग्गा त्यतिबेलासम्म समरजंग कम्पनी मातहत थियो । २०७० सालमा गुठी संस्थानले पशुपति टिकिन्छा गुठीको नामको जग्गामा दाबी लिन आउने सूचना निकालेको थियो । उनीमाथि मिलेमतो गरी दाबी लिन नगएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्