खेलकुद

स्पेन र जापान एक खेलअघि नै विश्वकप फुटबलको नकआउट चरणमा

१० श्रावण २०८०, बुधबार १२:४५
स्पेन र जापान एक खेलअघि नै विश्वकप फुटबलको नकआउट चरणमा

१० साउन, काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकप फुटबलमा स्पेन र जापानले नकआउटचरणमा स्थान पक्का गरेका छन्।

बुधबार भएको खेलमा स्पेनले जाम्बिया र जापानले कोस्टारिकालाई पराजित गर्दै यी दुवै टिम एक खेलअघि नै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।समूह ‘सी’मा आज न्युजिल्यान्डको इडन पार्कमा भएको खेलमा स्पेनले जाम्बियालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्न सफल भयो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको नवौँ मिनेटमा टेरेसा अबेलेइराले गोल गर्दै स्पेनलाई अग्रता दिलाइन् । खेलको १३औँ मिनेटमा जेनिफर हेर्मोसोले गोल गर्दै जाम्बियाविरुद्ध स्पेनलाई २–० गोलको अग्रता दिलाइन् ।

बुधबार स्पेनले जाम्बियालाई जेनिफर हेर्मोस र अल्बा रेडोन्डोले समान २–२ गोल गरेका थिए। अर्को एक गोल टेरेसा अबेलेइराले गरेकी थिइन्। खेलमा ९ औ मिनेटमा अबेलेइराको गोलमार्फत स्पेनले अग्रता लिएको थियो।

समूह ‘सी’ बाट स्पेन र जापानले आ–आफ्नो खेलमा लगातार जित निकाल्दै नकआउट चरणमा स्थान बनाउँदा जाम्बिया र कोस्टारिका भने लगातार हार ब्यहोर्दै एक खेलअघि नै विश्वकपबाट बाहिरिएका छन् । अब स्पेन र जापानले समूह चरणमा अन्तिम खेल ३१ जुलाईमा खेल्नेछन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

दुई खेलबाट दुई खेलमा जित निकाल्दै स्पेनले ६ अंक बनाउँदा जापानले पनि दुई खेलबाट दुवै खेलमा जित निकाल्दै ६ अंक नै बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्