राजनीति

हिम्मत छ भने माधव नेपाल र बाबुरामलाई जेल हालेर देखाउनुस्ः ज्ञानबहादुर शाही

१० श्रावण २०८०, बुधबार १२:३९
हिम्मत छ भने माधव नेपाल र बाबुरामलाई जेल हालेर देखाउनुस्ः ज्ञानबहादुर शाही

१० साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि निशाना साधेका छन् ।

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर दिएको प्रकरण फेरि संसद्मा उठेको छ।उनले आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सरकार र गृहमन्त्रीको हिम्मत छ भने उक्त प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्न आवश्यक रहेको बताएका हुन् । व्यापारी र टिप्पणी उठाउने कर्मचारीलाई कारबाही गरेरमात्रै उक्त समस्या समाधान नहु्ने उनले बताए ।

ललिता निवास प्रकरणमा तत्कालीन दुई प्रधानमन्त्री बाबुराम र माधव नेपाललाई पक्राउ गरेर जेल हालिनुपर्नेमा उनले जोड दिए।  उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा २०६६ साल चैत २९ गते, २०६७ साल वैशाख ३१ गते र २०६७ साल साउन २८ गते तीन पटकसम्मको मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरिएको बताए। त्यस्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा २०६९ साल असोज १८ गते थप नक्कली मोही खडा गरेर ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको उनले दाबी गरे।

तत्कालीन प्रधानमन्त्रीद्वयहरुले विभिन्न मितिमा ललिता निवासको एक सय १३ रोपनी जग्गामा नक्कली मोही खडा गरेर बाँडेको उनको आरोप छ । मन्त्रिपरिषद्को निर्णयको कागज देखाउँदै उनले उक्त प्रकरणका दोषीहरु अहिले कोही सदनमै आइरहेको र कोही सडकबाट कराइरहेको बताए । ललिता निवास प्रकरणमा सानालाई मात्रै समातेर गृहमन्त्री रामजात्रा हेरेर बसेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्