समाचार

कांग्रेसका महाधिवेशन : आज उम्मेदवारी दर्ता गरिने

२५ मंसिर २०७८, शनिबार ०२:३९
कांग्रेसका महाधिवेशन : आज उम्मेदवारी दर्ता गरिने

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन कार्यक्रम आजबाट सुरु हुने भएको छ । शुक्रबारदेखि सुरु महाधिवेशनको दोस्रो दिन उम्मेदवार मनोनयन दर्ता हुने भएको हो ।

जसअनुसार आज बिहान १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय भएको छ भने आवश्यक सबै प्रक्रिया पुरा गरेर २७ गते बिहान ८ बजेदेखि मतदान हुनेछ । काँग्रेसको महाधिवेशन अन्तरगत शुक्रबार उद्घाटन सत्र भएर बन्दसत्र पनि सम्पन्न भइसकेको छ।

त्यसपछि, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। दाबी विरोधउपर निर्णय आजै साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।

मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि (आइतबार) बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२:१५ बजे अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिइएको छ। सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ।

निर्वाचन कार्यक्रम आजैबाट सुरु हुने भए पनि संस्थापनइतरले अझै सभापतिको साझा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । संस्थापनमा शेरबहादुर देउवा सभापतिमा खडा भए पनि बाँकी पदहरूमा आकांक्षी धेरै हुँदा सकस परेको छ ।

यो महाधिवेशनका लागि देश तथा प्रवासबाट चार हजार ७४३ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।द  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।

कांग्रेसले यसपटकको महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्नेछ। नीति अधिवेशन भने छुट्टै गर्ने जानकारी दिएको छ। यसअघि शुक्रबार नै सुरु भएको बन्दसत्रमा तीन वटा प्रतिवेदन पेस गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्