९ साउन,काठमाडौँ । सरकारले त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी अर्थमन्त्रालयका सहसचिव टोकराज पाण्डेलाई दिएको छ।
मंगलबार अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो । यसअघि भन्सार कार्यालयको प्रमुख रहेका अरुण पोखरेलको जिम्मेवारी खोसिएको हो । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले पोखरेललाई हटाएर भन्सार प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको हो ।
प्रमुखको जिम्मेवारीमा भए पनि पोखरेल दुई महिनादेखि छुट्टीमा छन्। २०७९ पुस १० मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए।
३ साउनमा राजस्व अनुसन्धान विभागले विमानस्थलको सुरक्षा जाँच पार भएको आएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । सुनबारे राजस्व अनुसन्धान विभाग र प्रहरीले अनुसन्धान गरिरहेका छन् ।