३० असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले मिटरब्याज सम्बन्धी विधेयक तत्काल ल्याउन सरकारलाई आग्रह गरेको छ ।
शनिवार पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन् ।
मिटरब्याजीहरूले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहन गरिरहेको भन्दै केसीले त्यस्तो शोषण कार्यलाई रोक्न र शोषण र दोहन गर्नेहरूलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । ‘देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको छ र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता छ’ केसी भनेका छन् ।
उनले देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको बताउँदै त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । केसीले अगाडि भनेका छन्– ‘मिटरब्याज पीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।’