२८ असार,काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको बताए । उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए ।
राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नमाथि बिहीबार जवाफ दिँदै परराष्ट्रमन्त्री एनपी साउदले रिक्त सातै स्थानमा राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढेको बताएका हुन्।
कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्ति गरिने उनले बताए। ‘राजदूत नियुक्ति सम्बन्धमा उच्च राजनीतिक तहमा छलफल भइरहेको छ,’ उनले भने, ‘अब यो प्रक्रिया शीघ्र सम्पन्न गरिनेछ।’
मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताए । विदेशमा रहेका नेपालीहरुको हक, हीतको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ ।