स्थानीय समाचार

राजापुर नगरपालिका बर्दियाका पर्यटकीय गन्तब्यहरु (फोटो फिचर)

८ असार २०८०, शुक्रबार ११:१८
राजापुर नगरपालिका बर्दियाका पर्यटकीय गन्तब्यहरु (फोटो फिचर)

बर्दिया: बर्दिया जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा आफैँमा सुन्दर र मनोरम पर्यटकीय क्षेत्र हो ।  राष्ट्रिय निकुञ्ज भित्र वन्यजन्तु प्रति चासो राख्नेहरूका लागि पनि एक अनुपम गन्तव्य हो बर्दिया।

जिल्लामा रहेका थुप्रै पर्यटकीय गन्तव्यहरु मध्ये पनि राजापुर नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु आफैँमा सुन्दर र मनोरम रहेका छन् । यस नगरपालिका भित्र थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यले सजिएको सुन्दर र मनोरम दृश्य, कृषि क्षेत्रले भरिएको समथल फाट, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायत थुप्रै पर्यटकलाई आकर्षण गर्ने क्षेत्र रहेका रहेको राजापुर नगरपालिका मेयर दिपेन्द्र थारुले बताएका छन् ।

यस नगरपालिकामा स्वदेशी तथा विदेशी पर्यटकहरुले छुटाउन नहुने मध्यको एक गन्तव्य हो कर्णाली नदीको गेरुवा घाटमा बनेको नेपालकै लामो पुल । जसको लम्बाइ १ हजार १५ मिटर छ ।

धार्मिक आस्थाको मुख्य केन्द्रका रूपमा परिचित गणेश मन्दिर यस क्षेत्रको मुख्य धार्मिक शक्तिपिठ हो । गणेशको दर्शन गर्दा मनमा आनन्द आउनुका साथै मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । हरेक मंगलवार र माघ महिनामा ठूलो घुइचाेका साथ यस गणेश मन्दिरको दर्शन गर्न मानीसहरु विभिन्न जिल्लाबाट आउने गरेको पाइन्छ ।

यस्तै यस नगरको अर्को पर्यटकीय स्थल हो हुलाकि राजमार्ग अन्तर्गत बर्दिया र कैलालीको सिमानामा रहेको सत्तीघाट कर्णाली पुल रहेको छ । यस पुलबाट बिश्वमै लोपउन्मुख माछा डलफिन खेलिरहेको सजिलै देख्न सकिन्छ ।

यसका अलवा कर्णाली नदीमा जलयात्रा, मानव निर्मित अर्नहुवाताल, सोनाहा र थारुजातीको सयुक्त संग्रहालय, वडा नम्बर १ मा रहेको नमुना गाउँ, अजिङ्गरको बासस्थान आदी विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न सकिन्छ ।

कसरी पुग्ने ?
राजापुर नगरपालिका पुग्न बाँकेको धम्बोझीबाट प्रत्येक २५ मिनेटको फरकमा करिब २ घण्टाको बस र हाईस को यात्रा तथा जिप रिजर्भ गरेर पनि जान सकिन्छ । नगरपालिकाको पर्यटकीय स्थलहरुमा घुम्न जाने पर्यटकको लागि होमस्टे सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्