स्थानीय समाचार

पलाता गाउँपालिकाका कर्मचारीले अनिवार्य श्रमदान गर्नुपर्ने

२४ जेष्ठ २०८०, बुधबार १३:५८
पलाता गाउँपालिकाका कर्मचारीले अनिवार्य श्रमदान गर्नुपर्ने

कालिकोट ।  कालीकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ ।

पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई कार्यालयको समयबाहेक अन्य समयमा आ–आफ्नो कार्यक्षेत्रमा विकासका काममा सहयोग  गर्न आग्रह गरिएपछि कर्मचारी पनि श्रमदानमा जुटेका हुन् ।

पालिकाको निर्माण र समृद्धिको अभियान आफैँबाट सुरुआत गर्ने उद्देश्यसहित प्रत्येक कर्मचारीलाई गाउँपालिकाको विकासमा श्रमदान गर्नका लागि अभियान सञ्चालन गरिएकोे गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

‘गाउँपालिका, संघीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि कर्मचारीलाई अतिरिक्त समयमा अनिवार्य विकास निमार्णमा जुट्न लगाइएको छ,’ उनले भने, ‘राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले यस्तो कार्यक्रम गर्न लागिएको हो ।’

प्रतिक्रिया दिनुहोस्